नेपाली समय Loading...२०७७ माघ ४ आईतवार

संसद विघटन प्रतिगमनकारी र फासीवादी कदम –संयुक्त राजनीतिक दलित संघर्ष समिति ,नेपाल

काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चा सहित विभिन्न राजनीतिक पार्टीहरु निकट १० राजनीतिक दलित संगढनहरुको संयुक्त राजनीतिक दलित संघर्ष समिति नेपाले आज एक विज्ञप्ति जारी गरी गत पौष ५ गतेको संसद विघटनको कदमलाई प्रतिगमनकारी फासीवादी कदम भएको जनाएको छ ।

संयोजक अमर परियार को हस्ताक्षरमा जारी गरेको उक्त विज्ञप्तिमा संसद विघटन हुनुमा कुनै पार्टी वा व्यक्ति विशेषको कारणले उतपन्न समस्या मात्र नभएर संसदीय व्यवस्था कै असफलता रहेको जनाइएको छ । यो संकटको समाधान मध्यावधि निर्वाचन वा संसद पुनस्थपना नभएर संसदीय व्यवस्थाको ठाउमा आमुल परिवर्तनकारी एवं हग्रगामी सत्ता निमार्ण रहेको समेत विज्ञप्तिमा जनाइएको छ र । विज्ञप्तिमा पूर्ण पाढ ः–

                                                                                                                                                                                     २०७७÷०९÷२१

                                                               प्रेस वक्तव्य

नेपालमा क्रियाशिल १० राजनीतिक दलित संगठनहरुले “संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपाल” नामक संघर्ष समिति निर्माण गरी जनजीविका, जनतन्त्र, राष्ट्रियता र दलित समस्याका सवालहरुमा संघर्षरत रहेको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा विगत केही समयदेखि आफ्नो पार्टीको आन्तरिक किचलो, गुटगत स्वार्थ र गम्भीर षडयन्त्रको योजनामा रहेका प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा यही पौष ५ गते गरिएको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा प्रतिगमनकारी र फासीवादी कदम रहेको हाम्रो ठहर रहेकको छ ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्र र प्रतिगमनकारीहरुको मिलेमतो एवं साँठगाँठ रहेको आशंका गरिएको यस फासीवादी कदमले नेपाली जनताले धेरै लामो समयदेखि संघर्ष गरी प्राप्त गरेको अधिकारहरुलाई आफ्नो निहित स्वार्थपूर्तिका निम्ति समाप्त पारी देशलाई अनन्त बरवादी र अध्यारो सुरुङ्गमा फसाउने कुत्सीत मनसाय देखिन्छ । यो कदम पश्चात् विभिन्न पक्षहरुबाट फरक फरक दृष्टिकोणका क्रियाप्रतिक्रियाहरु सार्वजनिक भैरहेको सन्दर्भमा यो कुनै पार्टी वा व्यक्ति विशेषको कारणले उत्पन्न समस्या मात्र नभएर संसदीय पूँजिवादी विचार र व्यवस्थाकै संकट भएको स्पष्ट छ ।
पुरानै तरिका र सामान्य सुधारको बाटोबाट यो वर्तमान समस्या समाधान नहुने विगतको उदाहरणले पनि पुष्ठि गरेको हुनाले कुनै पनि प्रकारको फासीवादी हर्कत र प्रतिगमनलाई परास्त गर्दै देश र जनताको हितका लागि आमूल परिवर्तनकारी एवं अग्रगामी बाटोमा एकतावद्ध भई अघि बढ्न सम्पूर्ण देशभक्त, सच्चा लोकतान्त्रिक शक्ति, वामपन्थी, कम्युनिष्ट क्रान्तिकारी तथा आम नेपाली जनसमुदायमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपाल हार्दिक अपिल गर्दछ ।
साथै, पछिल्लो समयमा दलित समुदायमाथि भैइरहेको उत्पीडन र छुवाछुतका घटनाका दोषीमाथि कारवाही र पीडितलाई न्याय प्रदान गर्ने विषयमा राज्यको तर्फबाट बेवास्ता भैरहेको मात्र होइन उल्टै घटनालाई ढाकछोप गरी पीडकलाई उन्मूक्ति दिने षडयन्त्र भैरहेकोले निरन्तर खबरदारी, दबाब र संघर्षमा लामवद्ध हुन पनि आम न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक आव्हान गर्दछांै ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपालमा आवद्ध घटक संगठनहरुः
१. नेपाल दलित मुक्ति मोर्चा
२. जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल
३. दलित मुक्ति मोर्चा, नेपाल
४. नेपाल राष्ट्रिय दलित केन्द्र
५. नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा
६. राष्ट्रिय दलित मोर्चा
७. विभेद मुक्ति प्रगतिशिल समाज
८. समाजवादी दलित मुक्ति महासंघ
९. संयुक्त दलित अधिकार मञ्च, नेपाल
१०. जातिय समता समाज

                                                                                                                                                                  (अमर परियार)
                                                                                                                                                                       संयोजक

प्रतिक्रिया दिनुहोस्