नेपाली समय Loading...२०७७ माघ ४ आईतवार

हामीलाई त केवल जातले उछिनेको

हामीलाई त केवल जातले उछिनेको’!
“यदि अन्याय सहनु नि पाप हो भने
हामीले महा पाप गरिसकेका छौं,
भो,अब अरु पाप नगरौं र मुक्ति पाऔं,
यो पापको मुक्ति,
संसारमा रहँदै प्राप्त गर्न सकिन्छ भने,
किन स्वर्गको ढोका ढकढक्याउनु,

हामीले कहिल्यै गिता पुराण पढ्न पाएनौं
र पनि ‘सेवा नै धर्म’ हाम्रो मूल मन्त्र भो,
बिना सर्टिफिकेटका इन्जिनियर हामी,
सीप र परिश्रमको प्रखर हामी,
दिए खायौं नदिए भोकै दिन काटिदिने हामी,

वेद,पुराण,गिताको श्लोक भट्भटयाई
आफूलाई उच्च ठानि आफैंलाई उचाल्नेहरुले,
शास्त्रलाई चलाएर संसारमै आफ्नो स्वर्ग खडा गरे,
हामीलाई भने संसारमै नर्क के हो देखाईदिए,
कस्तो आश्चर्य!नर्कमा टिकेको स्वर्ग,
मुर्तिलाई मन्दिर भित्र राखेर मुर्तिकारलाई चैं
बाहिरै थेचारिदिनेहरुको समाज हो मेरो,
हामीलाई बनाउने भगवान् हुन् भने
मुर्तिलाई बनाउने मुर्तिको भगवान्
कस्तो आश्चर्य!ईश्वरको स्वर्गमा ईश्वरलाई नै लखेटि राक्षसी मान्छे पसे जस्तो,

सुचीकारले बनाएको ढाका टोपीलाई,
सम्मानले शिरमा लगाउने अनि
तिनै सुचीकारलाई भने पैताला मुनि कुल्चेर
हिँड्नेहरुको समाज हो मेरो,कस्तो आश्चर्य!
चर्माकार दाइले बनाएको जुत्ता लगाएर,
तिनै चर्माकारलाई नै खुट्टाले छातीमा टेकेर
गन्यमान्य बन्नेहरुको समाज हो मेरो,कस्तो आश्चर्य!
कामी दाइको थुकाइ,पिटाइ र पसिनाको भिझाईले
बनाएको थालमा खाएर ,कामी दाईलाई नै
थुक्नेहरुको समाज हो मेरो,कस्तो आश्चर्य!
सानो भनी हली बनाई,भरिया बनाई,
उसकै परिश्रमको अनाज खाएर,
उसकै परिश्रमको नमक खाएर,
उसैलाई नै भोकले तड्पाईदिने
उसैलाई नै बेस्वादको जिन्दगी बोकाइदिने परिजिवीहरुको
समाज हो मेरो,कस्तो आश्चर्य!
छि! कति धेरै आश्चर्य!!!!
कति सम्झनु,कति लेख्नु,वाक्कदिक्क लाग्ने,
अनगिन्ती छन् पानाहरुमा न अट्ने छन्,

यसमा कुनै दुई मत छैन कि हामी विना यो समाज,
एक चल्दैनथ्यो दुई चल्दैनथ्यो..चल्दै चल्दैनथ्यो,
हामीले यो समाजलाई धेरै दियौं,तर
बदलामा केवल घृणा,गालिगौलज र दरिद्रता पायौं,

यो समाजले जति हिँड्यो,त्यहाँ सम्म
हामीले पनि हिँडेको,सँगसँगै हिँडेको,
तर हामीलाई त केवल जातले उछिनेको,
केवल जातले।”
✍️सुजन रम्तेल’!

प्रतिक्रिया दिनुहोस्